नेपालगन्ज, २०६६ मंसिर ११ - मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लामा नुन र खाद्यान्न संकट भएको छ । मुगुका ११ गाविसमा एक वर्षदेखि नै नुन छैन । त्यहाँका ३ हजार ६ सय ६३ परिवार वर्ष दिनयता अलिनै खान बाध्य छन् । बझाङका ३१ गाविसमा पनि नुन नभएकाले स्थानीयवासी केही महिनादेखि अलिनो खाइरहेका छन् । डोल्पाका गाउँगाउँमा पनि तीन महिनायता नुन छैन । सदरमुकाम क्षेत्रमा प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री हुने गरेको छ । सधंै अभाव रहने मध्य तथा सुदूरका दुर्गम जिल्लामा सरकारले अनुदानमा उपलब्ध गराउनुपर्ने नुन र खाद्यान्न पुग्न नसकेकाले संकट झन्झन् बढेको हो । कणर्ाली क्षेत्रमा ढुवानीको एकमात्र स्थलमार्ग कर्णाली राजमार्ग ५ महिनादेखि अवरुद्ध छ । त्यसको एकमात्र विकल्प हवाईमार्गबाट पनि ढुवानी नगरिएकाले दुर्गममा चामल र नुन अभाव भएको हो । निजी विमानहरूले कार्गो भाडा बढाएर चामल ढुवानी गर्न मानिरहेका छैनन् । सडक नपुगेका कर्णालीका मुगु, डोल्पा, हुम्लालगायत जिल्लामा नुनको चर्को समस्या छ । सरकारले मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोटका लागि बर्सेनि सहुलियतको नुन वितरण गर्छ । तर समयमै ढुवानी नहुँदा र सहुलियतको नुन दुरुपयोगले समस्या बढेको हो । जिम्मा पाएका नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनका क्षेत्रीय कार्यालयले ढुवानी गरेका छैनन् । 'तिब्बतबाट नुन आउन छाड्यो, सरकारले दिएको नुन पनि दुई दिन हिँडेर बल्लतल्ल एक किलो पाइन्छ,' जिमा २ मुगुका तेजबहादुर बिष्टले भने । सहुलियतको नुन सजिलैसँग पाउन नसकेपछि मुगुका ११ गाविसमा नुन छैन । एक वर्षयता ती गाउँमा सरकारले नुन उपलब्ध नगराएको र तिब्बतबाट समेत आउन छाडेको बिष्टले बताए । उनका अनुसार फोतु, नार्थपु, जिमा, रारा, कालै, धैनकोट, खमाले, सेरी, गम्था श्रीकोट, कोटडाँडा र ह्याङलु गाविसमा नुन छैन । अनुदानको नुन सदरमुकाम आसपासका बासिन्दाले मात्र पाउने गरेका छन् । केही वर्षअघिसम्म स्थानीय व्यापारी मध्य र सुदूरपश्चिमका हिमाली तथा पहाडी जिल्लामा भेडाच्यांग्रामार्फत तिब्बतबाट ल्याएर स्थानीय उपजसँग साटासाट गर्थे । तिब्बतबाट ल्याउन अहिले कडाइ गरिएकाले समस्या बढेको स्थानीयको भनाइ छ । हवाई भाडा दर कटौती गरेपछि स्थलमार्गबाट ढुवानी गर्नुपर्दा समस्या भएको साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय मुगुका प्रमुख प्रवीणजंग शाहले बताए । उनले स्थलमार्गबाट नुन ढुवानी हुन नसकेपछि अञ्चल कार्यालय जुम्लाबाट ६ सय क्विन्टल नुन सापटी ल्याई सदरमुकाममा मात्र वितरण गरिएको बताए । शाहका अनुसार यो वर्ष स्वीकृत कोटा १ हजार ८ सय ७५ मध्ये ३ सय ३५ क्विन्टल नुन स्थलमार्ग भएर जुम्लाबाट ल्याई वितरण गरिएको छ । सदरमुकाम क्षेत्रमा पनि प्रतिघरधुरी दुई किलो र कर्मचारीलाई एक किलो मात्र उपलब्ध गराउन सकिएको उनले जानकारी दिए । डोल्पामा पनि तीन महिनायता नुन छैन । यहाँ साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियतको नुन वितरण बन्द गरेपछि संकट भएको हो । कर्पोरेसनले प्रतिकिलो १० रुपैयाँमा दिँदै आएको नुन सदरमुकाम क्षेत्रमा व्यापारीले १ सय २० रुपैयाँमा बेच्ने गरेका छन् । साल्ट ट्रेडिङ अञ्चल कार्यालय नेपालगन्जले कणर्ालीका पाँचै जिल्लामा यस वर्षका लागि नुन ढुवानी प्रक्रिया सुरु भएको जनाएको छ । निमित्त प्रमुख मनोज चौधरीले भदौदेखि नै प्रक्रिया सुरु भएको बताए । उनले डोल्पामा २ सय र मुगुमा ६ सय क्विन्टल सहुलियतको नुन पुगिसकेको दाबी गरे । जुम्ला, हुम्ला र कालिकोटका गाउँहरूमा समेत नुनकै समस्या छ । 'गत वर्ष ठेकेदारहरूका कारण समयमै ढुवानी नहुँदा समस्या भएको हो,' निमित्त प्रमुख चौधरीले भने, 'यो वर्ष ढुवानी प्रक्रिया सुरु गरेका छौं ।'सुदूरपश्चिमको बझाङमा पनि ठेकेदार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनको लापरबाहीका कारण ३१ गाविसमा नुन नभएको महिनौं बितिसकेको छ । नुन लिन सदरमुकाम आइपुगेका दर्गाजी गाविसका विष्णुभक्त उपाध्यायले भने, 'तीन दिन सदरमुकाम आउन र तीन दिन र्फकन लाग्छ, आयोडिन नुनको कुरा छाडौं, महिनौंदेखि ढिकेनुन पनि नपाएर सर्वसाधारण दुःखमा छन् ।'साल्ट ट्रेडिङले सदरमुकामबाहेक अन्य ठाउँमा डिपो स्थापना नगरेकाले ३१ गाविसमा ढिकेनुनसमेत पुगेको छैन । साल्टट्रेडिङका प्रमुख प्रकाश धामीले सदरमुकाम चैनपुरमा मात्र नुन डिपो भएका कारण समस्या भएको बताए ।खाद्यान्न ढुवानी ठप्पनेपालगन्ज- निजी विमानहरूले भाडा बढाएर ओसार्न छाडेपछि मध्यपश्चिमका हिमाली र पहाडी जिल्लामा खाद्यान्न पुग्न सकेको छैन । निजी कम्पनीका जहाज तथा हेलिकप्टरले विश्व खाद्य कार्यक्रमको चामल मात्रै महँगो भाडा लिएर ढुवानी गरेपछि अन्य खाद्यान्नलगायत उपभोग्य वस्तुको अभाव भएको छ । चालकहरूले सुर्खेतबाट विश्व खाद्यको चामल मुगु पुर्याएबापत प्रतिकिलो १ सय ६० रुपैयाँ लिन्छन् । व्यापारीको सामान ढुवानी गर्दा जिल्ला दररेटअनुसार प्रतिकिलो १२० रुपैयाँ मात्र पाउने भएकाले उनीहरूले ओसार्न छाडेका हुन् । कर्णाली लोकमार्ग अवरुद्ध भएकाले पाँच महिनायता स्थलमार्गबाट ढुवानी हुन सकेको छैन । लोकमार्ग सुचारु हुन अझै तीन महिना लाग्ने सुर्खेतस्थित सडक डिभिजन कार्यालयले जनाएको छ ।




0 comments:
Post a Comment